खगेन्द्र अधिकारी ‘अमृत’
समग्रमा भन्ने हो भने यो संसार एउटा घर हो । हामी बस्ने घर रहनका लागि यो संसार रहनु पर्दछ । त्यो संसार भित्रको एउटा देश । जुन देशमा हाम्रो जन्म हुन्छ त्यो अति नै प्रिय हुन्छ । त्यसमा पनि आफु जन्मेको गाउँ ठाउँ झनै प्रिय नहुने कुरै भएन । नौ महिनासम्म गर्भमा बोकेर यो संसार देखाउने आमा भन्दा सर्वश्रेष्ठ यो संसारमा कोही पनि हुँदैन । जुन भूमिमा पहिलो पाइला टेकिन्छ त्यो जन्मभूमि कहलाउँछ । जन्म दिने आमा र जन्मेको भूमि भन्दा ठूलो पुजनीय कोही हुँदैन । त्यसैले त जिउँदो भगवान आमा हुन् भने स्वर्ग भनेको जन्मभूमि हो । विभिन्न धर्मग्रन्थ तथा शास्त्रहरुले कल्पना गरेको छुट्टै संसार र स्वर्ग कहीँ पनि छैन । मान्छेले कल्पना गरेको स्वर्ग छ भने त्यो जन्मभूमि हो । भगवान छन् भने त्यो जन्मदिने आमा मात्र हुन् । अरु त हामीले आफ्नो आत्म सन्तोषका लागि गर्ने कार्य न हुन् ।
हामीलाई धर्मले संस्कार सिकाउँछ त्यसैले धर्मबाट संस्कार सिक्नु पर्दछ । त्यही संस्कारले हामीलाई पहिचान दिन्छ । हाम्रो पहिचानले नै हामीलाई चिनाउने भएकोले हाम्रो धर्मले हामीलाई सदमार्गमा लाग्न प्रेरणा दिइरहेको हुन्छ । जबसम्म हामी सदमार्गमा लाग्दैनौ अर्थात यदि हामी कुमार्गमा लाग्यौ भने हाम्रो भविष्य अन्धकार छ अझ त्यसमा पनि हामीलाई जन्मदिने आमा र हाम्रो पहिलो पाइलालाई स्वागत गर्ने हाम्रो जन्मभूमिले हामी जन्मिएकोमा अभिसाप ठान्ने अवस्थाको सिर्जना हुन्छ । जुन कारण हाम्रो जीवन मात्र होइन जन्मपनि व्यर्थ ठहर्छ । त्यसैले भनिएको हो, जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी ।
म को हुँ भन्ने कुरालाई चिन्न आवश्यक छ । जबसम्म म नै मलाई चिन्दिन भने म केही गर्न सक्दिन । मैले म लाई चिने भने मेरो परिवार, छिमेकी, इष्टमित्र, नातागोता चिन्न सक्छु । त्यसपछि न मैले समाज र देशलाई चिन्ने हो । समाज र देशलाई चिन्नै सकिएन भने आफुलाई पनि कसले चिनिदिन्छ ? अनि जति नै आराम, सुख, सुविधा, धन दौलत भएपनि कृति विनाको जीवन केवल बाँच्ने बेलासम्मका लागि मात्र हुन्छ । यो भौतिक शरिर कृतिषेश भइसकेपछि सन्नतीहरुले सम्झने कृति नै भएन भने कृतिषेशपछि के नै रहन्छ र संसारमा ।
यही मैले म चिन्ने क्रममा दैलेख जिल्लाको तत्कालिन जगनाथ गाउँ पञ्चायत वडा नं. २ को सुन्दर गाउँ तुर्सूमा जन्मेको हुँ म । हुर्कदै र बढ्दै जाने क्रममा मेरो शिक्षाको औपचारिक सुरुवात भएको थियो उत्तफ् गाउँमा रहेको भगवती प्राथामिक विद्यालयबाट । मेरी आमाले सिकाएको ‘कु’ र मेरा गुरुले सिकाएको ‘कु’ उस्तै थियो । त्यसैले मेरो पहिलो गुरुको रुपमा मैले मेरी आमालाई नै पूज्ने गरेको छु । औपचारिक शिक्षाको ज्योतिले मेरो जीवनको अन्धकार हटाउनका लागि मेरा गुरुहरु जंगबहादुर बि.सी., गंगासिंह ठकुरी र स्वयम् मेरो पिताश्री कृष्णप्रसाद अधिकारी नै अग्रपंत्तिमा हुनुहुन्छ । त्यसका साथै मलाई विभिन्न विधामन्त्रहरु दान दिनुहुने गुरुहरु रामचन्द्र चौधरी, खड्कबहादुर थापा र नेमबहादुर खत्री नै अग्रस्थानमा पूजनीय हुनुहुन्छ । जसले मलाई प्राथामिक शिक्षा आर्जनका माध्यमबाट मेरो जीवनको अन्धकार ढोकालाई उघार्नका लागि शिक्षामय ज्योतिको प्रकाश छरिदिनु भयो ।
म कहिल्यै बिर्सन सक्दिन मैले अध्ययन गरेको विद्यालय भवनको एकातिरको छानो ह्वाङ्ग भएर खसेको थियो अनि एउटा तिदुको रुखको भेदमा बसेर गुरु जंगबहादुर बि.सी.ले ‘ए बि सि डी’ घोकाउनु भएको, गुरु गंगासिंह ठकुरीले ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ कण्ठस्त गराउनु भएको, अनि स्वयम् मेरो पिताश्री गुरु कृष्णप्रसाद अधिकारीले ‘स, तौ ता’ बाट संस्कृत भाषाको शुभारम्भ गर्नुभएको ।
प्राथामिक तहको शिक्षा पूरा गरेपछि म अन्य कयौ विद्यालयहरुमा गएँ । कयौं गुरुहरुले मलाई औपचारिक अनौपचारिक शिक्षामन्त्रहरु प्रदान गर्नुभयो । तरपनि मेरो पहिलो विद्यालय भगवती प्रा.वि. नै मेरो शिक्षाको फेदनै हो । मेरो शिक्षाको जरा हो । जरा र फेद विना म अरु हांगाबिंगाको कल्पना गर्दै गर्दिन । म आफ्नो शिक्षाआर्जन र जीवन संघर्षको क्रममा तुर्सू बाहिर पुगेपनि मेरो विद्यालय पनि ठूलो हुँदै गयो । प्राथामिकबाट निम्न माध्यमिक हुँदै अहिले माध्यामिक विद्यालयको रुपमा हिजोको भगवती प्राथामिक विद्यालय आज भगवती माध्यमिक विद्यालयको रुपमा जवान भएको छ ।
कुनैपनि काम गर्दा स्वच्छ मन र पवित्र भावनाले गर्न सकेपछि मात्र त्यो कामले लक्ष्य प्राप्ति गर्छ । तर मनमा कलुसित भावना राखेर गरिएको कार्य कहिल्यै पनि समाजका लागि हुँदैन । त्यसभित्र व्यक्तिगत स्वार्थ जोडिएको हुन्छ । त्यसले न समाजलाई नै फाईदा गर्छ न व्यक्तिलाई नै । मेरो विद्यालयको आडमा एउटा तिदुको बडेमानको रुख । विद्यालयको भवन जिर्ण भएकोले त्यही तिदुको रुखले हामी विद्यार्थी र हाम्रा गुरुहरुलाई घामबाट बचाउथ्यो । एक डोल पानी छेल्न काफि थियो तर विद्यालय भवनको निर्माणका खातिर भन्दै काटियो त्यो रुख । तर भने जस्तै विद्यालय भवन पनि बनेन । व्यर्थमा शहिद भयो तिदुको रुख । हो त्यही दिन सिंगो तुर्सू गाउँको स्वाभिमान शहिद भएको थियो । पहिचान शहिद भएको थियो । जुनदिन त्यो रुख गर्ल्याम्मै ढलेको थियो त्यो दिन सायद मेरो जस्तै धेरैको निद्रा हराएको थियो होला । रुखमा हानेको बन्चरो आफ्नै खुट्टामा हानेको जस्तै भएको थियो होला । तर त्यसैमा आनन्द मान्ने विवेकहिनहरु पनि थिए त्यहाँ ।
हुन त २००२ साल जेठ २ गतेका दिन तत्कालिन समाजसेवी, शिक्षाप्रेमीहरुको पहलमा जन्मिएको भएपनि यो विद्यालयले आफ्नो जवानी ल्याउन धेरै वर्ष संघर्ष गर्नुपर्यो । यो संगै जन्मेका विद्यालयहरु कहाँबाट कहाँ पुगिसके । एउटै मातापिताको कोखबाट जन्मेका सन्तान कोही अति सुन्दर हुन्छन् त कोही कम सुन्दर हुन्छन् । तर जन्मदिने आमाले ती सबै सन्तानलाई बराबर सुन्दर देख्नु नै मातृवात्सल्य हो । एकातिर भौतिक संरचनाको अभाव, अर्कोतिर भौगोलिक विकटताले पनि मेरा विद्यालयलाई कुपोषणमा पारेको हुनुपर्छ । तर अब मेरो विद्यालय हृष्टपुष्ट भएको छ । जवान भएको छ । २००२ सालबाट आजसम्म आउँदा यसले कति धेरै विद्यार्थीलाई शिक्षा दिएको छ त्यो एकिन गर्न गारो छ । यो विद्यालयमा पढेकाहरु आज कहाँ कहाँ पुगिसके तर पनि यो विद्यालय त्यही ठाउँमा अझैपनि आफ्नो धर्म र कर्तव्य निर्वाह गरिरहेको छ ।
म अक्षर चिन्ने भइसकेको थिइन । तर मेरी आमाले मलाई ‘एकानन चतुरानन हंसासन राजै’ कण्ठाग्र पारिदिनु भएको थियो । वास्तवमा त्यो साहित्य रहेछ । श्लोकको मार्फत मैले साहित्य त्यसरी सिकेको रहेछु । आमाले ति लयात्मक श्लोकहरु नपढाइदिएको भए म साहित्यको क्षेत्रमा लाग्ने थिएँ वा थिइन । त्यसैले त भनिएको होला, एउटा नारीलाई शिक्षा दिनु भनेको एउटा सिंगो परिवारलाई शिक्षा दिनु हो । ‘बत्ति नमस्कार म गर्छु तिमलाई बालेर सत्कार म गर्छु तिमलाई’ जस्ता पंत्तिफ्हरु आमाबाटै सिकेको हुँ मैले । जसले गर्दा आज मलाई चार–चार वटा साहित्यका पुस्तकहरु प्रकाशन गर्नसक्ने क्षमता दियो । विभिन्न लेखहरु लेख्नसक्ने उर्जा दियो । जसको घरमा पारिवारिक वातावरण सुन्दर हुन्छ त्यो घरका बालबालिकाहरुको भविष्य पनि सुन्दर बाटोमा लम्किन्छ ।
हिजोको भवगती प्रा बि आज माविको रुपमा जसरी विकसित भएको छ । त्यसलाई अभफ् व्यवस्थित बनाउन, त्यसको भौतिक र शैक्षिक स्तरोन्नती गर्नका लागि अझ धेरै गर्न बाँकी छ । भौतिक विकास, संरचनागत विकास क्रमिक रुपमा हुने विकासहरु हुन् । विज्ञान र प्रविधिले फड्को मारिरहेको बेलामा विज्ञान र प्रविधिसँग जोडिएको छ उत्तफ् विद्यालय । त्यस विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुलाई पनि एकत्रित रुपमा एकतावद्ध गरी विद्यालयको शैक्षिक विकास, भौतिक विकास र अतिरित्तफ् त्रिफ्याकलापहरुमा समेत संलग्न गर्न र गराउन सकेको खण्डमा विद्यालयको स्वरुपमा अझै परिवर्तन आउने कुरामा दुईमत नहोला । विद्यालय स्थापना गर्दादेखि हालसम्मका प्रधानाध्यापकहरु, संचालक तथा व्यवस्थापक समितिहरु, पूर्व शिक्षकहरु, पूर्वविद्यार्थीहरु, जग्गादाता तथा चन्दादाताहरु, सम्पूर्ण अभिभावकहरु, विद्यालयको विकास र शैक्षिक उन्नतीका लागि टेवा पुर्याउने शिक्षाप्रेमीहरुलगायत वर्तमानको विद्यालय परिवार समेतका बीचमा सिंगो तर असल परिवारका सदस्यहरुको जस्तै भावनात्मक विकास गराउन सक्नुपर्छ । जसले गर्दा हाल अध्ययन गरिरहेका हरेक बालबालिकाहरुमा सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन सकोस् । मेरो विद्यालय, मलाई शिक्षा प्रदान गर्नुहुने मेरा गुरुहरु अनि मेरो जन्मभूमिप्रति सत्सत् नमन ।
हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ सुर्खेत
